काठमाडौँ, १५ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले राजदूत चाङलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले राजदूतले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पु¥याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ राजदूत चाङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाइ ज्ञापन गर्नुभयो । नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गर्नुभयो । साथै विकासका विभिन्न परियोजनामा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरुप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतले दुवै देशका जनताले मनाउँदै आएका चिनियाँ नयाँ वर्षका अवसरमा शुभकामना पनि आदानप्रदान गर्नुभयो ।
संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिनेमा पनि सदाझैँ स्पष्ट रहेको बताउनुभयो ।
एउटा मुलुकमा अस्थिरता हुँदा अर्कोमा पनि समस्या हुन सक्ने भन्दै उहाँले क्षेत्रीय शान्ति र स्थायित्वका निम्ति पनि आपसी सहकार्य मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । चिनियाँ राजदूतले नेपाल सरकारको नीति र अडानका लागि चिनियाँ जनता र राष्ट्रपतिकातर्फबाट हार्दिक कृतज्ञता ज्ञापन व्यक्त गर्नुभयो । –––


















