अज्ञात रोगका कारण दाजुभाइको मृत्यु

बैतडी, १६ फागुनः अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका १० वर्षीय विकास महरा र १३ वर्षीय विनोद महरा रहेका छन् ।

पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरका अनुसार विकासको आज बिहान र विनोदको फागुन ११ गते ज्यान गएको हो । केही दिनदेखि उच्च ज्वरो, बान्ता, शरीर दुख्ने लक्षण देखिएकामा दुवै जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

अज्ञात रोगका कारण एकैघरका दाजुभाइको मृत्युु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिनुभयो ।

गाउँभरि यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सकको टोली त्यसतर्फ गएको छ । अज्ञात रोगका कारण दुई बालकको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ ।