इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुनःप्रयोग गरिएका पुराना तस्बिर, भिडियो गेमका दृश्यलाई क्षेप्यास्त्र आक्रमणका रूपमा प्रस्तुत गरिएको सामग्री तथा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका युद्ध दृश्यहरूले सामाजिक सञ्जाल भरिएको छ ।

विश्लेषकहरूका अनुसार जमिनमा भइरहेका घटनाभन्दा छिटो फैलिने यस्ता सामग्रीले कथानकको प्रतिस्पर्धालाई तीव्र बनाएको छ । सप्ताहन्तमा भएको अमेरिकी र इजरायली आक्रमणले क्षेत्रीय द्वन्द्वलाई विस्तार गरेपछि सामाजिक सञ्जालमा दुवै पक्षका समर्थकहरूले आ–आफ्नो दाबीलाई बलियो बनाउन असत्य र भ्रामक सामग्री व्यापक रूपमा फैलाएका छन् । एएफपीका तथ्य–जाँचकर्ताहरूले संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियासहित इजरायल र खाडी मुलुकहरूमा तेहरानको क्षेप्यास्त्र प्रहारबाट ठूलो क्षति भएको दाबी गर्दै पुराना भिडियोहरू पुनःप्रयोग गरिएको पत्ता लगाएका छन् ।

यस्ता दाबीहरू इरान समर्थक खाताबाट प्रसारित भएका थिए । रणनीतिक संवाद संस्थान (आइएसडी) का मुस्तफा अयादले अनलाइन स्पष्ट रूपमा ‘कथात्मक युद्ध’ भइरहेको बताउनुभयो । उहाँका अनुसार खाडी क्षेत्रमा भएका आक्रमणलाई उचित देखाउने प्रयास होस् वा इजरायली तथा अमेरिकी आक्रमणको सामना गर्न इरानी सेनाको क्षमतालाई बढाइचढाइ प्रस्तुत गर्ने काम, दुवै पक्षले आफ्ना ‘शत्रु’ कमजोर देखाउने लक्ष्य राखेका छन् ।

अर्कोतर्फ, इरानी विपक्षी माध्यमहरूले एक्स र टेलिग्राममा इरानी बालिका विद्यालयमा भएको भनिएको क्षेप्यास्त्र आक्रमणलाई सरकारकै दोष भन्दै भ्रामक विवरणहरू सार्वजनिक गरेका छन् । अनुसन्धानकर्ताहरूले वरिष्ठ इरानी नेतृत्वको नक्कली सामाजिक सञ्जाल खातामार्फत झुटो पहिचान गरेकोसमेत भएको चेतावनी दिएका छन् ।

यसै क्रममा भिडियो गेमका क्लिपहरूलाई इरानी मिसाइल आक्रमणको वास्तविक दृश्य भन्दै प्रचार गरिएको छ भने युएसएस अब्राहम लिङ्कनजस्ता अमेरिकी युद्धपोत डुबेको देखाउने एआई–निर्मित तस्बिरहरूले लाखौँ अवलोकन प्राप्त गरेका छन् । युक्रेन र गाजासहित अन्य विश्वव्यापी द्वन्द्वमा समेत यस्तै रणनीति अपनाइएको देखिएको छ ।

अयादका अनुसार यस्ता सामग्रीको गति र फैलावट नै सबैभन्दा चिन्ताजनक पक्ष हो, जसले लक्ष्यबद्ध आक्रमण र हताहत सङ्ख्याबारे व्यापक भ्रम सिर्जना गर्छ । गलत सूचना अनुगमन गर्ने संस्था न्युजगार्डले इरानलाई वास्तविक प्रमाणभन्दा बढी खतरनाक रूपमा चित्रण गर्ने बनावटी सामग्रीले एलन मस्कको स्वामित्वमा रहेको एक्समा सामूहिक रूपमा दुई करोड १९ लाखभन्दा बढी अवलोकन पाएको जनाएको छ ।

युद्धका बेला प्रामाणिक सूचनामा पहुँच आवश्यक रहेको भन्दै एक्सले मङ्गलबार नयाँ नीति घोषणा गरेको छ । कम्पनीले एआईबाट बनाइएका सशस्त्र द्वन्द्वसम्बन्धी भिडियो पोस्ट गर्दा कृत्रिम सामग्री भएको खुलासा नगर्ने सिर्जनाकर्तालाई ९० दिनसम्म राजस्व साझेदारी कार्यक्रमबाट निलम्बन गर्ने जनाएको छ ।

एक्सकी उत्पादन प्रमुख निकिता बियरका अनुसार हालको एआई प्रविधिले मानिसलाई झुक्याउने सामग्री बनाउनु सजिलो बनाएको छ । मस्कले सन् २०२२ अक्टोबरमा कम्पनी खरिद गरेपछि यसको सामग्री व्यवस्थापन नीतिबारे व्यापक आलोचना हुँदै आएको थियो ।