सुर्खेत — वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिसा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले छोरीमाथि बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
परिवारले बलात्कारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् । परिवारको जाहेरीपछि बाँकेको भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य नेतृत्वको टोलीले कर्णाली प्रदेश अस्पताल पुगेर इनिसाको शव परीक्षण गरेको थियो । परीक्षण प्रतिवेदनमा बलपूर्वक करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागि अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।
घटना भएको एक सातासम्म पनि वास्तविक तथ्य सार्वजनिक नभएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेका छन् । लामो समय बितिसक्दा पनि प्रहरीले विश्वस्त हुने आधार प्रस्तुत गर्न नसकेको उनीहरूको आरोप छ ।
पीडित परिवारले दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।


















