राष्ट्रिय परिचयपत्रका लागि छुट्टै फारम भर्नु नपर्ने

काठमाडौं -वर्षौंदेखि हुन नसकेको र सेवा प्रवाहमा नागरिकता र राष्ट्रिय परिचयपत्रको लागि छुट्टाछुट्टै फारम भरी समयसमेत खर्चिनुपर्ने अवस्थालाई हटाउन, सेवा प्रवाहमा सरल र सहज पहुँच स्थापित गरिएको छ । उक्त अवसरमा गृहमन्त्री अर्यालले नागरिक सेवा प्रवाह र सुशासनका लागि एनआइडी इन्ट्रिगेसन उपयोगी र सान्दर्भिक हुने बताए ।

नयाँ व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने नेपाली नागरिकले अब राष्ट्रिय परिचयपत्रका लागि छुट्टै अनलाइन पूर्व-दर्ता फाराम भर्नु नपर्ने भएको छ । यसले सेवा प्रवाहलाई सरल, छरितो तथा नागरिकमैत्री बनाएको मन्त्री अर्यालको भनाइ छ ।

यो सेवा केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (सिसिएमआइएस) र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (इनआइडीएमआईएस) बीच एपिआईमार्फत गरिएको अन्तर-आबद्धताबाट सम्भव भएको हो । नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र विवरण दर्ता केन्द्रमा नागरिकको ११ अंकको नागरिकता नम्बर प्रविष्ट गरेपछि सम्बन्धित नागरिकका विवरण स्वतः सिसिएमआइएसबाट एनआइडीउमआइएसमा प्राप्त भई औँठाछाप, आँखा (आइरिस), फोटो तथा हस्ताक्षरजस्ता जैविक विवरण संकलन गरी राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रिया सम्पन्न गरिन्छ ।

देशभर दैनिक करिब ८ देखि ९ हजार नागरिकता प्रमाणपत्र जारी हुने गरेको छ । यस प्रणालीमार्फत अब नागरिकले नागरिकता प्राप्त गर्ने दिनमै राष्ट्रिय परिचयपत्रमा दर्ता हुने सुविधा प्राप्त गर्नेछन् । यसबाट सेवा लिने समय घट्ने, पुनः कार्यालय धाउनुपर्ने अवस्था कम हुने तथा सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गर्ने पहिलो नागरिकलाई राष्ट्रिय परिचयपत्रसमेत हस्तान्तरण गरिएको छ । गृहमन्त्री अर्यालले उक्त परिचयपत्र हस्तान्तरण गरेका हुन् । यस प्रणाली लागू हुनुअघि नागरिकता प्राप्त गरेका नागरिकले विद्यमान अनलाइन पूर्व-दर्ता प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र दर्ता गर्न सक्नेछन् ।

नेपाल सरकारको डिजिटल सुशासन र प्रशासनिक सरलीकरणको अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट उद्घाटन गर्दै अब ७७ जिल्लाबाट प्रि-इनरोलमेन्ट फारम नभरिकनै नागरिकता नम्बरका आधारमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने छ । उक्त सेवाको आज गृहमन्त्री ओमप्रकाश अर्यालले शुभारम्भ गरेका हुन् ।