बक्स अफिसमा ‘धुरन्धर २’को सुनामी

धुरन्धर २’ ले पहिलो दिन भारतीय बक्स अफिसमा १०२.५५ करोड रुपैयाँको व्यापार गरेको छ। पेड प्रिभ्यू र पहिलो दिनको व्यापार जोड्दा चलचित्रको कुल नेट कलेक्सन १४५.५५ करोड पुगेको छ । यससँगै रणवीर सिंहको करियरकै यो सबैभन्दा ठुलो ओपनिङ फिल्म बनेको छ। यसले बलिउडका ब्लकबस्टर फिल्महरू ‘जवान’, ‘पठान’ र ‘पुष्पा २’ को ओपनिङ रेकर्डलाई समेत तोडेको छ ।

यसअघि यसको पहिलो पार्ट ‘धुरन्धर’ले पहिलो दिन २८ करोड कमाएको थियो । दोस्रो भागले आफ्नो अघिल्लो रेकर्डलाई निकै पछाडि छाडेको छ। ‘धुरन्धर २’ सँगै दक्षिण भारतीय सुपरस्टार पवन कल्याणको फिल्म ‘उस्ताद भगत सिंह’ पनि प्रदर्शनमा आएको थियो । तर, रणवीर सिंहको फिल्मको अगाडि पवन कल्याणको फिल्म धेरै पछि परेको छ । ‘उस्ताद भगत सिंह’ ले पहिलो दिन ३१.५० करोडको मात्रै व्यापार गरेको बताइन्छ ।

धुरन्धर २’ बलिउडको अलावा दक्षिण भारतमा पनि राम्रो पकड जमाएको छ। तमिल भर्सनले १.१६ करोड र तेलगु भर्सनले २.१२ करोड कलेक्सन गरेको छ। यद्यपि, मलयालम र कन्नड भाषामा भने व्यापार औसत देखिएको छ।

‘धुरन्धर २’ एक जासुसी थ्रिलर फिल्म हो । यसमा हम्जा उर्फ जसकीरत सिंह रांगीको खतरनाक जासुसी यात्रा र उनको उद्देश्यलाई देखाइएको छ। फिल्ममा सबैभन्दा बढी चर्चा ‘ठुला साहब’ (बड़े साहब) को पात्रलाई लिएर भइरहेको छ, जसको खुलासाले दर्शकलाई स्तब्ध बनाएको छ।

फिल्ममा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त, आर माधवन र सारा अर्जुनको अभिनय छ ।