राप्रपा सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने

संसद् सचिवालयले नेपालीबाहेकका मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि दिएको समयसीमाभित्र खुश्बु ओलीसहित विभिन्न दलका दुई दर्जन सांसदहरूले आफ्नो रुचि र मातृभाषामा शपथ लिने विवरण बुझाएका छन्। यस पटकको शपथ ग्रहणमा संस्कृतका साथै नेपाल भाषा (नेवारी), मैथिली, डोटेली, थारु, तामाङ र बान्तावा लगायतका भाषाहरूको उपस्थिति रहने सचिवालयको भनाइ छ।

सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूले शपथको बेहोरा आफ्नै भाषामा अनुवाद गरी त्यसको प्रतिलिपि बुझाइसकेका छन्। नवनिर्वाचित सांसदहरूलाई चैत १२ गते प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।

संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूका लागि तय गरेको कार्यतालिका अनुसार झापाकी सांसद ओलीले आफ्नो शपथको भाषाका रूपमा ‘देवभाषा’ संस्कृतलाई रोजेकी हुन्।

आधुनिक शिक्षाको लहरमा आफ्नो मौलिक पहिचान र प्राचीन सभ्यता ओझेलमा पर्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले यो निर्णय लिएको बताएकी छन्। विद्यालय तहमा आफूले पढेको संस्कृतको स्मृति अझै ताजा रहेको उल्लेख गर्दै सांसद ओलीले नेपालको ज्ञान, संस्कृति र सभ्यताको मूल आधार नै संस्कृत भएको दाबी गरेकी छन्।

संस्कृतमा शपथ लिनुको कारणबारे स्पष्ट पार्दै उनले भनिन्, ‘विश्वका अमेरिका र जर्मनीजस्ता विकसित मुलुकहरूले संस्कृतको महत्त्व बुझेर यसको अध्ययन–अनुसन्धान गरिरहेका छन्। तर, हामीले आफ्नै धरोहरलाई कमजोर बन्न दियौँ। यो केवल भाषाको छनोट मात्र होइन, आफ्ना जराहरू जोगाउने मेरो दृढ प्रतिबद्धता हो।’