दाङ — खेलकुद परिषद् लुम्बिनीले घोराहीमा अयाोजना गरेको लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला कबड्डी प्रतियोगितामा रोल्पा र बर्दिया प्रथम भएका छन् । पुरुषतर्फ रोल्पा र महिलातर्फ बर्दियाले जित हासिल गरेका हुन् ।
घोराहीमा आयोजित ३ दिने प्रतियोगिताअन्तर्गत मंगलबार भएको फाइनल खेलमा पुरुषतर्फ प्रथम भएको रोल्पाले ८० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको नवलपरासी पश्चिमले ५० हजार नगद तथा तेस्रो भएका रुपन्देही र दाङले १५/१५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरुषतर्फ रोल्पाका सोहन सिंह बुढा मगरले वेष्ट प्लेयर भई १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । नवलपरासीका राहुल अर्याल वेष्ट डिफेन्डर र रिया जुद्धिन मिया वेष्ट रेडर भई ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
महिलातर्फ प्रथम भएको बर्दियाले ८० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी, दोस्रो भएको नवलपरासी पश्चिमले ५० हजार तथा बाँके र गुल्मी तृतीय भई १५/१५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिलातर्फ बर्दियाकी असोनी थारु बेष्ट प्लेयर भई १० हजार रुपैयाँ प्राप्त गरेकी छन् । वेष्ट डिफेन्डर नवलपरासीकी पूजा चौधरी र बर्दीयाकी खुशी घर्ती वेष्ट रेडर भई ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले बताए ।


















