४७ सांसदले मातृभाषामा शपथ लिँदै

काठमाडौ -प्रतिनिधिसभाका नवनिर्वाचित ४७ सांसदले १७ मातृभाषामा शपथ लिने भएका छन् । मातृ भाषामा शपथ लिन सांसदहरूले आफ्नो नाम संसद् सचिवालयमा टिपाएका छन् । शपथसम्बन्धी ऐनको दफा ५ मा कुनै सार्वजनिक पद धारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्ने व्यवस्था छ । मातृभाषाको विवरण शपथ गराउने पदाधिकारीसमक्ष उपलब्ध गराउनुपर्ने पनि व्यवस्था छ । संसद् सचिवालयका अनुसार नेपाल भाषामा शपथ लिन अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जित, विराजभक्त श्रेष्ठ, सहजान खातुनले निवेदन दिएका छन् ।  

डोटेली भाषामा आकृति अवस्थी, दीपकराज बोहरा र हरिनादेवी कामीले शपथ लिँदै छन् । त्यस्तै, मैथिलीमा अंकिता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्र साह कलवार, निशा मेहता, मनीष झा, मातृकाप्रसाद यादव, रामजी यादव, सीताराम साह, शम्भुकुमार यादव र जोगकुमार बरबरिया यादवले शपथ लिँदै छन् ।  बजिका भाषामा नीतिमा भण्डारी कार्की र राजेशकुमार चौधरीले शपथ लिने भएका छन् । भोजपुरीमा कन्हैया बनियाँ, बुद्धिप्रसाद पन्त र रवीन्द्र पटेलको शपथ हुनेछ ।

थारू भाषामा अमरकान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, प्रमिलाकुमारी गच्छदार, सुरेन्द्र चौधरी तथा कठरिया थारू भाषामा करिश्मा कठरिया र राना थारूमा कृपाराम रानाले शपथ लिनेछन् । मगही भाषामा प्रमोदकुमार महतो र राजकिशोर महतोले शपथ लिनेछन् ।  संस्कृतमा खुश्बु ओली, बान्तावामा ध्रुवराज राई, तामाङमा परशुराम तामाङ, चाम्लिङमा निश्कल राई, अवधिमा मोहम्मद इश्तियाक राई, बझांगीमा ऐनबहादुर महर, छन्त्यालमा गंगा छन्त्याल र मगर खाममा रेनुका काउचाले शपथ लिनेछन् ।

संसद् सचिवालयले १२ चैतमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ गराउँदै छ । बुधबार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिएर भोलिपल्ट सदस्यहरूलाई सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ गराउनेछन् । शुक्रबार बालेन्द्र शाहले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ लिनेछन् ।