वेलिङ्टन । बेसिन रिजर्भमा बुधबार क्रिकेट इतिहासकै एउटा अविश्वसनीय खेल देखियो, जहाँ अमेलिया केरको विष्फोटक ब्याटिङको मद्दतले न्युजिल्याण्डले महिला एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै नयाँ कीर्तिमान कायम गरेको छ ।
मध्यक्रमका ब्याटरहरू जर्जिया प्लिमर, म्याडी ग्रीन र ब्रुक हलिडे पनि ठूलो स्कोर बनाउन असफल भएपछि न्युजिल्याण्ड एक समय दबाबमा देखिएको थियो । तर, अमेलियाले छैटौँ नम्बरमा आएकी विकेटकिपर ब्याटर इसाबेल गाजेसँग मिलेर खेलको नक्सा नै बदलिदिइन् ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३४७ रनको विशाल लक्ष्यलाई न्युजिल्याण्डले खेल सकिन २ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो । यो जितसँगै न्युजिल्याण्डले दक्षिण अफ्रिका विरुद्धको द्विपक्षीय सिरिजमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।


















