नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को नवौं संस्करण काठमाडौंमा सुरु

काठमाडौ -नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को नवौं संस्करण काठमाडौंमा सुरु भएको छ । बिहीबार सुन्धारास्थित सिभिल मलमा आयोजित उद्घाटन समारोहमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै ‘निफ’ सुरू भएको हो । चैत २३ गतेसम्म जारी रहने महोत्सवमा नेपालसहित ४० देशका ८८ वटा फिल्महरू प्रदर्शन हुने जनाइएको छ ।

निफ’को उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत, नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी, नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, भारतीय फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी लगायतको उपस्थिति रहेको थियो ।

निर्देशक सिप्पी महोत्सवमा सहभागी हुन बुधबार काठमाडौं आइपुगेका हुन् । भोलि शुक्रबार निर्देशक सिप्पी र अभिनेता राजेश हमालबीच भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा संवाद कार्यक्रम राखिएको छ । उनीहरूबीच नेपाली र बलिउड फिल्मको यात्रा, व्यक्तिगत अनुभव, विश्व फिल्मको विगत, वर्तमान र भविष्यका विषयमा कुराकानी हुनेछ ।

यसपटक ‘निफ’मा ‘सिजाङ प्यानोर’मा पनि आयोजना गरिएको छ । जस अन्तर्गत ६ वटा चिनियाँ फिल्म र वृत्तचित्र प्रदर्शन गरिनेछ । यी फिल्महरू पर्यटन बोर्ड र छायाँ सेन्टरमा नि:शुल्क हेर्न पाइनेछ । महोत्सवमा विभिन्न देशका फिल्मको प्रदर्शनसँगै १० वटा अन्तर्क्रियात्मक कार्यकम पनि राखिएको छ । जसमा विभिन्न देशका मेकरहरूले ‌आफ्नो अनुभव सुनाउनेछन् ।