कूटनीतिक चेतावनी र मानवीय सङ्कट एकसाथ गहिरिँदै जाँदा मध्यपूर्वको अवस्था झन् जटिल बन्दै

मध्यपूर्वमा चर्किंदो युद्धका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र खसालिएको दोस्रो अमेरिकी एयरम्यानलाई सफलतापूर्वक उद्धार गरिएको दाबी गर्नुभएको छ । उहाँले उक्त अपरेसनलाई अमेरिकी सैन्य इतिहासकै ‘सबैभन्दा साहसी खोजी तथा उद्धार अभियानमध्ये एक’ भन्दै उल्लेख गर्नुभयो ।

ट्रम्पका अनुसार एयरम्यान शत्रु नियन्त्रणमा रहेको कठिन पहाडी क्षेत्रमा फसेका थिए र उनीमाथि खोजी अभियान चलिरहेको अवस्थामा अमेरिकी सेनाले उच्च जोखिम मोलेर उद्धार गरेको हो । उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एयरम्यान घाइते भए पनि सुरक्षित अवस्थामा रहेको जानकारी दिनुभयो ।

यसअघि अर्को एक पाइलटलाई पनि उद्धार गरिएको तर दोस्रो अभियान प्रभावित नहोस् भनेर सार्वजनिक नगरेको उहाँले स्पष्ट पार्नुभयो । यस घटनासँगै क्षेत्रीय तनाव थप चर्किएको छ । ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा ‘गम्भीर परिणाम’ भोग्न चेतावनी दिएको भोलिपल्टै उद्धारको घोषणा आएको हो । सोही क्रममा इरानले बहराइन, इजरायल, कुवेत र अबु धाबीमा मिसाइल तथा ड्रोन आक्रमण गरेको बताइएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी उद्धार प्रयाससँग सम्बन्धित आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । इरानले आफ्नो सेनाले विमान खसालेको दाबी गरे पनि अमेरिकी प्रशासनले त्यसबारे औपचारिक पुष्टि गरेको छैन ।

फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायलको आक्रमणपछि फैलिएको युद्धले अहिले मध्यपूर्वका धेरै देश समेट्दै विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । इरानले रणनीतिक रूपमा महत्त्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमा अवरोध सिर्जना गर्दै इजरायल र खाडी क्षेत्रका देशहरूमाथि आक्रमण जारी राखेको छ ।

उता, इरानभित्र पनि अमेरिका–इजरायलका हमलाहरूले औद्योगिक तथा ऊर्जा संरचनामा ठूलो क्षति पु¥याएका छन् । खुजेस्तान प्रान्तको पेट्रोकेमिकल केन्द्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । राजनीतिक रूपमा पनि दुवै पक्षबीच कडा शब्दयुद्ध जारी छ ।

ट्रम्पले ‘समय सकिँदै गएको’ चेतावनी दिँदै इरानमाथि दबाब बढाउनुभएको छ भने इरानी सैन्य नेतृत्वले त्यसलाई अस्वीकार गर्दै उल्टै कडा प्रतिक्रिया जनाएको छ । जनरल अली अब्दुल्लाह अलीआबादीले अमेरिकी चेतावनीलाई असन्तुलित र अविवेकी कदम भन्दै ‘नरकका ढोका खुल्ने’ चेतावनी दिनुभयो ।

यसैबीच, पाकिस्तानले युद्ध अन्त्यका लागि मध्यस्थता प्रस्ताव गरेको छ र कूटनीतिक पहल सुरु भएको सङ्केत देखिएको छ । तर मैदानमा हिंसा घट्ने कुनै स्पष्ट सङ्केत देखिएको छैन । बहराइनमा ऊर्जा भण्डारण ट्याङ्कीमा ड्रोन आक्रमणबाट आगलागी भएको छ भने अबु धाबीको पेट्रोकेमिकल संरचनामा पनि क्षति पुगेको छ ।

लेबनानमा इरान समर्थित हिजबुल्लाहले इजरायली युद्धपोतलाई लक्षित गरी क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ, यद्यपि इजरायलले त्यसको पुष्टि गरेको छैन । दक्षिणी लेबनानका बासिन्दाहरू निरन्तर बमबारीबीच भयभीत अवस्थामा जीवन बिताइरहेका छन् । स्थानीयवासीहरूले रातभर गोलाबारी नरोकिने र सुत्न नसकिएको बताएका छन् । इरानको बुशहर आणविक संयन्त्र नजिकै भएको आक्रमणले थप चिन्ता बढाएको छ ।

उक्त घटनामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने रुसले त्यहाँ कार्यरत आफ्ना १९८ कामदारहरू फिर्ता बोलाउने निर्णय गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले निरन्तर आक्रमण जारी रहे रेडियोधर्मी जोखिम फैलिन सक्ने चेतावनी दिनुभएको छ, जसको असर खाडी क्षेत्रका देशहरूमा समेत पर्न सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले विकिरण स्तर नबढेको जनाएको भए पनि पछिल्ला आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । पूर्व प्रमुख मोहम्मद एल–बरादेईले खाडी राष्ट्रहरूलाई क्षेत्रलाई थप विनाशबाट जोगाउन सक्रिय भूमिका खेल्न आह्वान गर्नुभयो ।

युद्धकै पृष्ठभूमिमा इरानभित्र आन्तरिक दमन पनि तीव्र भएको छ । सरकारले विरोध प्रदर्शन दबाउँदै दुई जनालाई मृत्युदण्ड दिने घोषणा गरेको छ भने इन्टरनेट सेवा अवरुद्ध गरिँदा यो देशको इतिहासकै सबैभन्दा लामो ब्ल्याकआउट बनेको बताइएको छ ।

समग्रमा, सैन्य कारबाही, कूटनीतिक चेतावनी र मानवीय सङ्कट एकसाथ गहिरिँदै जाँदा मध्यपूर्वको अवस्था झन् जटिल र अस्थिर बन्दै गएको देखिएको छ । –––