लुम्बिनीको सानदार जित, पुलिस ५० रनले पराजित

रन्जित खड्काको शतकीय पारीको मद्दतले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार वीरगन्जमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबमाथि ५० रनको प्रभावशाली जित निकालेको छ। यहाँस्थित टीबी शाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको पुलिसले लुम्बिनीलाई ब्याटिङको निम्तो दिएको थियो।

वीरगंजस्थित नारायणी रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित ५० ओभर पुग्न एक बल बाँकी छँदा अलआउट हुँदै २५६ रन बनाएको थियो। लुम्बिनीका लागि ओपनर रञ्जित खड्काले १२८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै १२८ रनको शतकीय इनिङ्स खेले। त्यस्तै, आकाश त्रिपाठीले ३६ रन बनाउँदा दर्ष सुनारले ३३ रनको योगदान दिए। बलिङमा पुलिसका ललित राजवंशीले ३ विकेट लिँदा दिनेश खरेल र राशिद खानले समान २ तथा करण केसी, आरिफ शेख र दीपक सेरलाले समान १ विकेट लिए।

विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पुलिस ४२.५ ओभरमा २०६ रनमा समेटियो। पुलिसका लागि दिनेश खरेलले सर्वाधिक ९४ रन बनाउँदा श्रवण यादवले ३६ तथा दिल्साद अलीले २२ रन बनाए।

बलिङमा लुम्बिनीका अजय चौहानले सर्वाधिक ४ विकेट लिँदा देव खनालले ३ तथा वीर मगर, निर्मल गुरुङ र सन्तोष यादवले समान १ विकेट लिए।