साथी ! तिमीलाई याे भन्नुछ

तिम्रै लाज ढाक्ने लुगा सिलाएवापत
तिम्रै गाेडाकाे सुरक्षा गर्ने जुत्ता सिलाएवापत
तिम्रो जन्मदेखि मुत्युसम्मका यावत् आधार फलाम पिटेवापत
घर न घाटका बनाइएकाहरुकाे कथा सुनाउनुछ तिमीलाई
बिसे नगर्ची, बाङ्गे सार्की , जसवीर कामी र मनिराम गाइनेहरुकाे
इतिहास भन्नुछ तिमीलाई
मैना सुनार, इनिशा विक, अजित मिजार र नवराज विकहरुकाे गाथा सुनाउनुछ तिमीलाई
कतिन्जेल नसुनेझैं गराैला ?
हेलाँहाेचाेकाे महाभारत
थिचोमिचोकाे त्रासदी
भेदभावकाे आतंक
आततायी ब्यबस्था
असभ्यताकाे पराकाष्ठा
किन्चित तिम्रा पुर्खाहरुकाे अपराधकाे
बदला लिनुछैन
याे मात्र बुझाउनुछ
तिमी र म फरक छैनौं
फरक हाेइनाैं
तिमीलाई भनिएका
तिमीलाई सिकाइएका कुरा असत्य हुन्
तिमीले छिटो बुझ
भ्रमबाट मुक्त हाेउ
मान्छे जातले काेहि सानाे वा ठूलो हुँदैन
तिमीले के खाइरहेका छाै
तिमीले के लगाइरहेका छाै
तिमीले के जानिरहेका छाै
तिमीले के बुझिरहेका छाै
त्याे खानु
लाउनु
जान्नु
र बुझ्नु मेराे पनि उत्तिकै हक छ
तर तिमीले कहिल्यै साेचेनाै र बुझेनाै
मेराे राेग,भाेक र शाेकमा
मेराे चीत्कार र आर्तनादमा
अट्टहास गर्याै
खुशी मनायाै
साथी ! याे कुरा बुझाउनुछ तिमीलाई
तिम्रो दानवतारुपी संस्कार
तिम्रो संस्कृतिरुपी असभ्यता
तिम्रो क्रूरतम् इतिहासकाे नालीबेली
एकपटक हाेइन
बारम्बार भन्नुछ र बुझाउनुछ
तिमीलेझैं मैले गर्नुछैन
देश तिम्रो मात्र हाेइन
तिमीले टेकेकाे धर्ती
तिमीले ओडेकाे आकाशमा
मेराे पनि बराबरी हक छ भनेर
तिमीलाई भन्नुछ
र साथीलाई साेध्नुछ-
तिमी स्वतः याेग्य र म स्वतः अयोग्य हुँदा
तिम्रा पुर्खा, तिमी र तिम्रा सन्तानहरुले
प्राप्त गरेकाे विशेष सुविधाबारे
मेरा पुर्खा, म र मेरा सन्तानहरुलाई परेकाे
विशेष असुविधाबारे स्वस्थ विमर्श गर्न तयार छाैं ?
तिमीले नबुझुन्जेल भनिरहनुछ
किनकि सत्यकाे लडाइँ लामाे छ

२०८२/१२/१५ ललितपुर, नेपाल

देव राज बिस्वोकर्मा

अध्यक्ष :रास्ट्रििय दलित आयोग