पौष २९ : नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठक बिथोलिएको छ ।
कपिलवस्तुको तिलौराकोटमा शुरु भएको वर्तमान कार्यसमितिको चौथो केन्द्रीय समिति बैठकको शुरुमै मिडिया अवार्डमा महासंघको संलग्नताबारे प्रश्न उठाउँदै यो विषय नटुङ्गिए सम्म बैठक अघि बढ्न नसक्ने बताएपछि बैठक अहिले स्थगित गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
अहिले पदाधिकारीहरूले यो विषयमा छलफल गरिरहेको उनले बताए । बैठकमा सचिव हेमकर्ण विकसहित केन्द्रीय सदस्यहरू मणि दाहाल, वासुदेव शर्मा, रामकृष्ण अधिकारी, राधा नेपाली, शान्तराम विँडारी, माधव पौडेल लगायतले मिडिया अवार्डमा महासचिवको हस्ताक्षर दुरुपयोग भएको, अध्यक्षले फोन गरेरै आर्थिक सहयोग गर्न व्यापारिक कम्पनीहरूलाई भनेको लगायत विषयमा स्पष्ट पारेर मात्र बैठक अघि बढाउन माग गरेका थिए ।
यस्तै बैठकमा यसअघि अब राजनीतितिर लाग्ने भन्दै महिला उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेकी बाला अधिकारी पनि बैठकमा उपस्थित भएको बारेमा पनि प्रश्न उठेको उनले जानकारी दिए ।
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेकी अधिकारीले महाधिवेशनका बेला अब आफू राजनीति तिर लाग्ने र पत्रकार महासंघबाट राजीनामा दिने बताएको विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा माग गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए ।