डा.मान वहादुर वि.क. द्धारा आफ्नो जन्म दिन पारेर आखाँ दान

बैशाख ८:  नेपाल सरकारका पुर्व सचिव डा.मान वहादुर वि.के ले आफ्नो जन्म दिन पारेर तिलगंगा अवस्थित नेपाल आँखा बैंकमा गई मृत्युपर्यन्त आँखाको नानी दान गर्नु भएको छ।

वहाँले आफ्नो मृत्यु पर्यन्त चार जना दृष्टिविहिनको आँखामा आफ्नो आँखाको नानी प्रत्यारोपण भई संसार देख्न सक्ने हुदा यो महत्वपूर्ण मानवीय कार्य रहेकोले खुसी लागेको बताउनु भयो। आफुले आँखा दान दिने बारे धेरै अगाडि सोचेको र परिवारसंग पनि कुरा गरेको भएता पनि निजामति सेवामा कार्यरत रहदा अनुकुल नपरेको तर अहिले निबृत्त भएकोले जन्म दिनको संदर्भ पारेर आँखा बैंकमै आई दान गरेको बताउनु भयो।

कुराकानि कै सिलसिलामा वहाँले आँखा जस्तो संवेदनशील कुराको उपचारमा सरकारले खासै चासो नदिएको र त्यस्ता सरकारी उपचार केन्द्र पनि नरहेको बताउनु भयो। त्यसैले आफु कर्णाली प्रदेशको सामाजिक विकास मंत्रालयको सचिवको रुपमा कार्यरत रहदा सबै जिल्ला अस्पतालमा आँखा उपचार कक्ष अनिवार्य रुपमा हुनु पर्ने नीतिगत व्यवस्था गरेको तर पुग्ने गरी संवन्धित स्वास्थ्यकर्मी नहुदा कार्यन्वयन हुन नसकेको स्मरण गर्नु भयो।

त्यसैले कर्णालीमै नेत्ररोग उपचार संवन्धी अप्थाल्मोलोजी विषयको पठनपाठन तिलगंगा आँखा अस्पतालको सहयोगमा गर्ने व्यवस्था मिलाउन रेडक्रस सोसाइटी सुर्खेतबाट संचालित आँखा अस्पतालसंग कुरा भएको पनि बताउनु भयो। वहाँले यो मुलुक र नागरिकका लागि अति महत्वपूर्ण विषय भएकोले कामकारवाही अघि बढेको होला भन्ने समेत अपेक्षा गर्नुभयो। आँखा दान जस्तो महत्वपूर्ण योगदानको कदर स्वरुप नेपाल आँखा बैंकले वहाँलाई प्रशंसापत्रले सम्मान गरेको छ। साथै जन्म दिनमा वहाँले नेपाल उत्पिडित महिला उत्थान केन्द्रलाई करिव प्रन्ध हजार रुपैया बराबरका पुस्तक पनि उपलव्ध गराउनुभयो।

तिलगंगा आँखा अस्पताल सन् १९९४ मा डा सन्दुक रोइतले स्थापना गर्नु भएको हो। सोही समय देखी आँखा अस्पतालमै नेपाल आँखा बैंक संचालनमा रही आएको छ। मृत्यु पर्यन्त आँखा दान दिन चाहने व्यक्तिले इच्छापत्रको लागि नेपाल आँखा अस्पतालमा संपर्क राख्न (९८५१०२०९३३) सकिन्छ। आफ्नो मृत्यु पछि आँखाको नानि खेर जाने हुदा यस्तो एक जनाको आँखाबाट चार जना दृष्टिविहिनलाई दृष्टि दिन सकिने बिशाल मानवीय कार्य भएकोले आँखा दान दिने विषयमा व्यापक चेतना फैलाउन जरुरी छ।