जेठ २०: वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच बिहीबार भएको छलफलमा सरोकारवालाले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाइएको मन्त्रालयले जनाएको छ ।
नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसिया रोजगारी लामो समयपछि नियमित भएपछि स्वास्थ्य परीक्षणको चाप बढेको स्वास्थ्य व्यवसायीको भनाइ छ । स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीले संयुक्त वक्तव्य जारी गर्ने, पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण नगर्ने, नियमानुसार नगर्ने संस्थालाई कारबाहीको दायरामा ल्याउने र स्वास्थ्य परीक्षणको विवरण साप्ताहिकरुपमा मन्त्रालयमा बुझाउने निर्णय भएको छ ।











