राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस

जेष्ठ २०ः राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकमा खाना पकाउने ग्यास, डिजल, पेट्रोल, मट्टीतेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर कम गर्नका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भइ सदनमा पेस भएको हो ।

देवेन्द्र दाहाल प्रस्तावक रहेको तथा भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर कम गर्नका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस् भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रस्तावको समर्थन गर्दै राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठ, खिमलाल देवकोटा र विमला घिमिरेले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै संविधानले दिएको सम्मानजनक बाँच्न पाउने अधिकारसमेतलाई खोसेकोमा आपत्ति जनाएका थिए ।