सिआइबीको कमाण्ड सम्हाल्न आईपुगे एआइजी सुबेदी

जेष्ठ २६ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) मा पदस्थापन भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुबेदीले सिआइबीको कमाण्ड सम्हालेका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले एआईजीमा बढुवा भएका सुबेदी सहितका अधिकृतहरुलाई प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

सिआइबीमा पदस्थापन भएका सुबेदीले आज हाजिर भई कार्यभार शुरु गरेका हुन्। एआइजी सुवेदीले बैतडीकी भागरथी भट्ट हत्याकाण्ड लगायतका घटनाको सफल अनुसन्धान गरेका थिए ।

धनुषाको एसपी छँदा सुबेदीले जनकपुर बम काण्डका प्रमुख योजनाकार तत्कालीन सभासद एवं पूर्व राज्यमन्त्री सञ्जय साह (टकला) लाई पक्राउ गरी मुद्दा चलाएका थिए।

एआइजी सुबेदीले अपराधका पुराना फाइल खोतल्नेदेखि जघन्य र गम्भिर प्रकृतिका घटनाहरुको अनुसन्धानका साथै बैंकिङ कसुरका मुद्दालाई पनि प्राथमिकतामा राखेर काम गर्ने वताएका छन्।