काठमाडौ -नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्ति भएकी छन्। युवा पुस्ताले गरेको आन्दोलनको बलमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि भइसकेकी छन्। उनले पहिलो महिला प्रधानमन्त्री भएर पनि इतिहास कायम गरेकी छन्। उनी ४२औं प्रधानमन्त्री हुन्।प्रधानमन्त्रीको हैसियतले ६ महिनाभित्र अर्को निर्वाचन गरिसक्ने जिम्मेवारी उनले पाएकी छन्।
नेपालको संविधानबमोजिम राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले सहमति र सिफारिसका आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई दिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्थाबमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी सम्माननीय राष्ट्रपतिले श्री सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको व्यहोरा जानकारी गराइन्छ,’ प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिमा भनिएको छ।











