अमेरिकाको भर्जिनियामा चलिरहेको ममता काफ्ले भट्ट हत्या मुद्दामा उनका पति नरेश भट्टले दुई वर्षपछि नयाँ दाबी गरेका छन्।
यसअघि ममता कहाँ छिन् भन्ने आफूलाई थाहा नभएको बताउँदै आएका नरेशले अब आफूले उनलाई जुलाई ३०, २०२४ को बिहान घरमै मृत अवस्थामा फेला पारेको बताएका हुन्।
अदालतमा आफ्नो बचाउमा बयान दिँदै नरेशले ममता ओछ्यानको फेद नजिकै मृत अवस्थामा रहेको दाबी गरे। उनका अनुसार ममताको अनुहार र भुइँमा बान्ता थियो। त्यहाँ चक्कीका क्याप्सुल र ‘सेल्फोस’ नामको विषादीको प्याकेट पनि रहेको उनको भनाइ छ।
नरेशले ममतालाई बचाउन सीपीआरसहित अन्य प्रयास गरेको बताए। तर, ममताको मृत्यु भइसकेको थाहा पाएपछि आफू निकै आत्तिएको र ९११ मा फोन नगरेको उनको भनाइ छ।
ममता बेपत्ता भएपछि नरेशले सुरुमा आफूलाई ममता कहाँ छिन् भन्ने थाहा नभएको बताएका थिए। तर, अहिले दुई वर्षपछि अदालतमा बयान दिँदै उनले आफूले ममताको शव घरमै फेला पारेको दाबी गरेका हुन्। यही कारण उनको नयाँ बयानले यो मुद्दालाई फेरि चर्चामा ल्याएको छ।
नरेशको नयाँ बयानपछि ममताका साथी र अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरूले आक्रोश र दुःख व्यक्त गरेका छन्। धेरैले उनको बयान सुन्दा विश्वास गर्न गाह्रो भएको बताएका छन्।
मलाई थाहा छैन किन मैले फोन गरिनँ। म साँच्चै डराएको थिएँ,’ नरेशले अदालतमा भनेका छन्।
ममताको मृत्यु भएपछि आफूले उनको शव लुकाउने निर्णय गरेको नरेशले अदालतमा बताएका छन्। उनले शवलाई फोहोरको भाँडोमा राख्न सजिलो होस् भनेर काट्ने प्रयास गरेको समेत स्वीकार गरेका छन्।
नरेशले शवका भाग फोहोरका झोलामा राखेर फालेको र कसैले नभेटोस् भन्ने आफ्नो उद्देश्य रहेको पनि स्वीकार गरेका छन्। अदालतमा उनको यो बयान आएपछि उपस्थित धेरै मानिस स्तब्ध बनेका थिए।
तर, नरेशले ममताको मृत्यु आफूले हत्या गरेर नभई आत्महत्याका कारण भएको दाबी गरेका छन्। उनको दाबी अनुसार ममताले विषादी सेवन गरेकी थिइन्।
यता, अभियोजन पक्षले भने नरेशमाथि ममताको हत्या गरेको आरोप लगाएको छ। उनीमाथि पहिलो श्रेणीको हत्या, शव लुकाउने र शवलाई अपवित्र पारेको आरोपमा मुद्दा चलिरहेको छ। ममताको शव अहिलेसम्म फेला परेको छैन।
ममता सन् २०२४ को जुलाईदेखि सम्पर्कविहीन भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। उनी आफ्नो नर्सको काममा नपुगेपछि परिवार र चिनेजानेकाहरूले चिन्ता व्यक्त गरेका थिए।
प्रहरी अनुसन्धानका क्रममा दम्पतीको घरको शयनकक्ष र बाथरुममा रगतका प्रमाण फेला परेको बताइएको थियो। अनुसन्धानका क्रममा कपालका टुक्रा लागेको पावर आरा पनि फेला परेको थियो।



















