मनोज केसी नयाँ प्रहरी महानिरीक्षक

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री कार्यालय मातहत सल्लाहकारको रूपमा राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् स्रोतका अनुसार कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आईजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो ।

सिधै बर्खास्त गर्दा कानुनी जटिलता पर्ने देखिएपछि मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सारेको हो । यसैबीच, सरकारले एआईजी मनोज केसीलाई प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुख रहेका छन् ।

बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम यही कात्तिक १८ गतेदेखि लागू हुनेगरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।