काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौधरीले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
चौधरी यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहेका थिए। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबारदेखि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भएसँगै विभिन्न पदमा उम्मेदवारी दिने क्रम तीव्र बनेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा दर्ताको प्रक्रिया अघि बढाएको छ।
विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।
कांग्रेसमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै महाधिवेशनको चुनावी माहोल थप तातेको छ।


















