केपि कुमार जलन /
गैरआवासीय नेपाली संघ (NRNA) की सहकोषाध्यक्ष रिता परियारको पहलमा सञ्चालित ‘३११ अभियान’ अन्तर्गत धनुषाको सबैला नगरपालिका–१२, बरकुरवा टोलस्थित दलित बस्तीका अति विपन्न तथा असहाय बालबालिकालाई कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
दसैँ पर्वको अवसर पारेर आर्थिक अभावमा रहेका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत करिब ६० जना बालबालिकालाई नयाँ कपडा, स्टेसनरी तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।
दलित समुदायका विपन्न बालबालिकाको अवस्था र उनीहरूले
दैनिक जीवनमा भोग्दै आएका आर्थिक समस्यालाई मध्यनजर गर्दै परियारले यसअघि नै सहयोग गर्ने योजना बनाएकी थिइन्। सोही योजनालाई ‘३११ अभियान’मार्फत कार्यान्वयन गर्दै बालबालिकाको आवश्यकता सम्बोधन गरिएको जनाइएको छ।
दसैँको समयमा नयाँ कपडा र शैक्षिक सामग्री पाएपछि बालबालिकामा उत्साह र खुसी देखिएको थियो। आर्थिक अभावका कारण दसैँमा समेत नयाँ कपडा लगाउन तथा आवश्यक शैक्षिक सामग्री जुटाउन कठिनाइ भोगिरहेका बालबालिकाका लागि उक्त सहयोगले पर्वको खुसी थपिएको आयोजक पक्षले जनाएको छ।
सहयोग सामग्री हस्तान्तरण गर्दै अभियानकी अभियन्ता परियारले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सघाउनु सामाजिक दायित्व भएको बताइन्। उनले आगामी दिनमा पनि ‘३११ अभियान’मार्फत विपन्न तथा असहाय समुदायका बालबालिका र आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
‘३११ अभियान’ले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई लक्षित गर्दै शिक्षा, आधारभूत आवश्यकता र सामाजिक सहयोगका क्षेत्रमा सकारात्मक योगदान पुर्याउने उद्देश्य लिएको बताइएको छ।
दसैँको अवसरमा गरिएको यस सहयोगले बरकुरवा टोलका बालबालिकालाई राहतसँगै आफ्नोपन, उत्साह र पर्वको खुसीसमेत प्रदान गरेको स्थानीयको भनाइ छ।


















