उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । मंगलबार काठमाडौँस्थित पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकता घोषणासँगै दुवै पार्टीले १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न पाँचकुने तारा रहनेछ ।

एकता घोषणाका क्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेललगायत नेताहरूको उपस्थिति थियो ।

सहमतिअनुसार पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ । सबै तहका पार्टी समिति तथा जनसंगठनको सांगठनिक समायोजन मंसिर मसान्तभित्र सम्पन्न गर्ने सहमति पनि भएको छ ।