यी हुन् मन्त्रिपरिषद्का आजको निर्णय

सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। साथै, मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, टर्कीको आन्ताल्यामा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद्ले मोही लागेको जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँटसम्बन्धी निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिक मसान्तसम्म र जग्गा बाँडफाँट गरी कारबाही टुङ्ग्याउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय भएको हो।

बैठकले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न पनि सहमति प्रदान गरेको छ।