नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन तथा चाँदीका सिक्का बिक्री सुरु गर्ने

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन तथा चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्ने भएको छ।

राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी तथा १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन खरिद गर्न सकिने व्यवस्था गरेको छ। चाँदीका मेडालियन बढीमा दुई थानसम्म लिन पाइने बैंकले जनाएको छ।

सिक्का खरिद गर्न इच्छुक सेवाग्राहीले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ।

सिक्का खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ। असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गरिने भएकाले मूल्य सार्वजनिक भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गरिनेछ। बैंकका अनुसार आज र भोलि गरी दुई दिनसम्म असर्फी तथा मेडालियन खरिद गर्न सकिनेछ।