नापी सर्भेक्षकविरुद्ध पौने ५ करोडको भ्रष्टाचार मुद्दा, श्रीमती पनि प्रतिवादी

काठमाडौं । नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुविन्द्र श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार श्रेष्ठले पदीय मर्यादाविपरीत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको पाइएको छ। गैरकानूनी आर्जनबाट खरिद गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रीमती कमलालाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

आयोगले श्रेष्ठ सरकारी सेवामा प्रवेश गरेको २०५३ साउन २७ देखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी सम्पत्ति अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा उक्त अवधिमा पारिश्रमिक, भत्ता, जग्गा तथा सवारीसाधन बिक्री, छोरीको पारिश्रमिक, घर–जग्गा बहाल, बिमा परिपक्व, बैंक ब्याज तथा ऋण सापटीलगायत वैध स्रोतबाट श्रेष्ठको कुल आम्दानी ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ रहेको देखिएको अख्तियारले जनाएको छ।

तर सोही अवधिमा श्रेष्ठले जग्गा खरिद, घर निर्माण, सेयर तथा सवारीसाधन खरिद, छोरीहरूको अध्ययन खर्च, ऋण सापटी भुक्तानी र बैंक मौज्दात लगायतमा कुल १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठले आयोगमा पेस गरेको सम्पत्ति विवरण वास्तविक नभएको, अस्वाभाविक देखिएको तथा सम्पत्ति लुकाएर झुट्टा विवरण पेस गरेको तथ्यसमेत अनुसन्धानबाट पुष्टि भएको छ।

अख्तियारले श्रेष्ठविरुद्ध झुट्टा सम्पत्ति विवरण पेस गरेको कसुरमा समेत छुट्टै कैद तथा जरिवानाको माग गरेको छ।

यस्तै, गैरकानूनी आर्जनबाट श्रीमती कमला श्रेष्ठको एकल तथा संयुक्त नाममा खरिद गरिएका सम्पत्ति जफत गर्नसमेत आयोगले माग गरेको जनाएको छ।