जापानमा उपचाररत विष्णुलाई भेट्न पुगिन् गायिका सीता, उपचारका लागि गरिन् सहयोग

केपि कुमार जलन/

सांगीतिक कार्यक्रमका सिलसिलामा जापान पुगेकी गायिका सीता परियारले गम्भीर स्वास्थ्य समस्याका कारण टोकियो कामातास्थित माकिता रिह्याबिलिटेसन अस्पतालमा उपचाररत नेपाली युवती विष्णु कुँवरलाई भेटेकी छन्।

मस्तिष्कघातपछि उपचाररत कुँवरको स्मरणशक्तिमा असर परेको छ। बोलीचाली सामान्य रहे पनि रंग छुट्याउन, मानिस चिन्न तथा आफ्ना भावना र अभिव्यक्ति व्यक्त गर्न उनलाई कठिनाइ भइरहेको बताइएको छ। परिवारबाट टाढा रहेर अस्पतालमा उपचार गराइरहेकी कुँवरको अवस्थाले जापानमा रहेका नेपाली समुदायलाई समेत भावुक बनाएको छ।

अस्पताल पुगेकी गायिका परियारले कुँवरको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोगसमेत गरेकी छन्। परियारको यो सहयोगले उपचाररत कुँवरलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

यसैबीच, बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटाले पनि विष्णु कुँवरको अवस्थाबारे आफू जानकार रहेको बताएका छन्। आफू अस्पतालमै पुगेर बिरामीलाई भेटिसकेको उल्लेख गर्दै उनले आवश्यक सहयोगका लागि समाजभित्र छलफल भइरहेको बताए। बिरामीलाई तत्काल आवश्यक पर्ने सहयोग पहिचान गरी त्यसअनुसार थप पहल गरिने उनको भनाइ छ।

जापानमा रोजगारी तथा विभिन्न उद्देश्यले पुगेका नेपालीहरूबीच यस्ता कठिन परिस्थितिमा मानवीय सहयोग र एकताको आवश्यकता अझ महत्वपूर्ण हुने गर्दछ। कुँवरको उपचारमा थप सहयोग जुट्दै जाने अपेक्षासहित उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।