दसैँ मनाउन काठमाडौं उपत्यकाबाट नागरिक बाहिरिने क्रम सुरु भएको छ । गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य घटेर करिब १० लाखमा झर्ने सुरक्षा निकायको अनुमान छ ।
बाढीपहिरोले सडक तथा पुलमा पु¥याएको क्षति, दुर्घटनाको जोखिम र महँगिएको हवाई भाडाका कारण घर फर्किने यात्रुमा अन्योल बढेको छ ।
यात्रुको चाप व्यवस्थापन गर्न सरकारले निजी सवारीसाधनको समेत अभिलेख राख्ने, टिकट तथा भाडा अनुगमन गर्ने, सवारीको प्राविधिक परीक्षण गर्ने र जोखिमयुक्त सडकमा उद्धार टोली परिचालन गर्ने तयारी गरेको छ । तर क्षतिग्रस्त सडक र मौसममा आउन सक्ने खराबीले सरकारी तयारीको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
यातायात व्यवस्था विभागले घटस्थापना अर्थात २५ असोज देखि ११ कात्तिकसम्म लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनको व्यवस्था मिलाएको छ ।
विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार यस वर्ष निजी रूपमा भाडामा लगाइने सवारीसाधनको समेत अभिलेख राखेर अनुगमन गरिनेछ । यसबाट यात्रुको चाप आकलन गर्न र बढी भाडा असुली नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निर्धारित भाडामा टिकट नपाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारीको अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्ने चिन्ता यात्रुमा छ । सडक अवरुद्ध हुँदा तत्काल उद्धार तथा वैकल्पिक यातायातको व्यवस्था हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उत्तिकै महत्वपूर्ण बनेको छ ।
सामान्य अवस्थामा यातायात व्यवसायी र सुरक्षा निकायको दसैँमा करिब २० लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान थियो । यस वर्ष बाढीपहिरोले सडक तथा पुलमा पु¥याएको क्षति र यातायात सञ्चालनको अनिश्चितताका कारण अनुमान घटाइएको हो । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी र कालीगण्डकी क्षेत्रमा भएको क्षतिले चाडपर्वको यात्रामा समेत असर पारेको व्यवसायीको भनाइ छ ।
सरकार र यातायात व्यवसायीले एक साताअघिसम्म करिब १६ लाख यात्रु बाहिरिने अनुमान गरेका थिए । तर बिहीबारसम्मको टिकट बुकिङको अनुपात विश्लेषण गरेर शुक्रबारसम्म सडकमार्गबाट बाहिरिने यात्रुको अनुमान करिब १० लाखमा झारिएको हो ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले भने करिब नौ लाख यात्रुलाई लक्षित गर्दै झन्डै ६५ हजार सार्वजनिक सवारीसाधन आवश्यक पर्ने अनुमान गरेको छ ।
सरकारले सवारीसाधनको यान्त्रिक अवस्था जाँच्ने, क्षमताभन्दा बढी यात्रु बोक्न नदिने, लामो दूरीका बसमा दुई चालकको व्यवस्था गर्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही गर्ने जनाएको छ ।


















