अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गोरखाको चुम्चेत नजिक पहिरोले बूढीगण्डकी नदीको बहाव अस्थायी रूपमा थुनिएपछि त्यसको अवरोध फुटेर विनाशकारी बाढी आएको हुन सक्ने प्रारम्भिक आकलन गरेको छ ।
इसिमोडले आइतबार बिहान करिब ४ बजे सुरु भएको बाढीको प्रारम्भिक विवरण विश्लेषण गर्दै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुटेको हुन सक्ने जनाएको हो ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरले पनि नेपाली सेनाको रिपोर्टिङ का आधारमा यस्तै अनुमान गरेको थियो ।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता छियाङगङ झाङले पनि आइतबार बूढीगण्डकीमा आएको बाढीको प्रारम्भिक विश्लेषणले पहिरोबाट बनेको अस्थायी अवरोध फुटेर गेग्रानयुक्त बाढी आएको हुनसक्ने देखाएको बताएका छन् ।
उनका अनुसार इसिमोडको यो विश्लेषण नेपाली समयअनुसार आइतबार बिहान ११:३० बजेसम्म सार्वजनिक रूपमा उपलब्ध सूचनामा आधारित छ । उद्धार तथा अनुसन्धानका काम जारी रहेकाले घटनासम्बन्धी तथ्यांक र क्षतिको विवरण परिवर्तन हुन सक्ने उनले बताए ।
विनाशकारी बाढीले केही व्यक्ति बेपत्ता भएको, घरहरू बगेको, जलविद्युत् आयोजना तथा पुलहरूमा क्षति पुगेको विवरणहरू आएका छन् । गोरखाको सेल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनास्थलमा पनि गम्भीर क्षति पुगेको प्रारम्भिक विवरण छ ।
बाढीले भौतिक क्षति धेरै भए पनि मानवीय क्षति भने पुष्टि नभएको प्राधिकरणले जनाएको छ । तर, क्षतिको यकिन विवरण आउन बाँकी छ ।
बाढीले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा कालो माटोसहितको गेग्रान र विभिन्न प्रकारका अवशेष बगाएर तल्लो तटीय क्षेत्रमा पुर्याएको थियो । पानीको सतहमा उतारचढाव र जोखिम बढेपछि बूढीगण्डकी, त्रिशूली र नारायणी नदी प्रणाली आसपासका समुदायलाई सतर्क गराइएको थियो ।
सुरक्षा अंगहरू प्रभावित क्षेत्रमा खोज तथा उद्धार, विस्थापितको स्थानान्तरण र बसोबासको प्रबन्ध मिलाउने काममा सक्रिय छन् ।


















