शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताको ९ रूप छन्, त्यसमध्ये पहिलो रूप शैलपुत्री हो । शैल भनेको पर्वत र पुत्री भन्नाले छोरी भन्ने अर्थ लाग्छ ।
मार्कण्डेय पुराणका अनुसार पर्वतराज हिमालयकी पुत्रीको रूपमा उत्पन्न भएकी हुनाले हिमालयराजकी छोरी, पार्वती, सेती वा हेमवती वा शैलपुत्री नाम रहन गएको हो । आश्विन प्रतिपदा अर्थात आजकै दिन माता शैलपुत्रीको पूजा तथा आराधना गरिन्छ ।
आज बिहान ११ बजेर ४७ मिनेटको शुभ साइतमा घटस्थापना गरी देवी दुर्गाको आवाहन तथा पूजा गरेर जमरा राखिन्छ । घटस्थापना गरिसकेपछि मात्रा शैलपुत्रीको पूजा गर्नुपर्दछ । आज चित्रा नक्षत्र र वैधृति योग परेकोले घटस्थापना गर्नु अगाडी चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना र देवी पूजा गर्नु पर्ने नेपाल पञ्चाङ्ग विकास समितिले जनाएको छ ।
एक कथाको अनुसार दक्ष प्रजापतिले ठुलो यज्ञ गरेका थिए । त्यस यज्ञमा सबै देवताहरूलाई निमन्त्रण गरिएको थियो तर दक्ष प्रजापतिले भगवान् शंकर र शतिदेवीलाई निमन्त्रण गरेका थिएनन् । आफ्नो बुवा दक्षप्रजापतले ठुलो यज्ञ गरेको तर आफूलाई बेवास्ता गरी निमन्त्रणा नगरेको भन्दै सतिदेवीले श्रीमहादेवलाई वृत्तान्त सुनाइन र बाबुले गरेको त्यस यज्ञमा जान इच्छा राखिन् ।
श्रीमहादेवले निमन्त्रणा नगरेको कारण त्यस यज्ञमा जान ठिक हुन्न भनि सतिदेवीलाई सम्झाए । सतिदेवीले यज्ञमा आमा तथा बहिनीहरूसँग भेटघाट गर्ने र यज्ञमा सहभागिता जनाउनको लागि जाने भन्दै श्रीमहादेवसँग अनुमति लिएर यज्ञमा गइन् । आफ्नो बुवाले गरेको महान् यज्ञमा पुग्दा शतिदेवीलाई दुर्व्यवहार गरियो र महादेवलाई पनि नाना तरहले गाली गरियो । आफ्नो स्वामीलाई बुवा दक्षप्रजापतिले गरेको नाना प्रकारको गाली सहन नसकि शतिदेवीले आफनो शरिर यज्ञमा बलिरहेको अग्निमा हाम फालेर देह त्याग गरिन् । यस प्रकारको दुखद घटनाले श्रीमहादेव आक्रोशित भए । त्यसपछि आफ्नो गणहरूलाई यज्ञ स्थलमा पठाएर दक्षप्रजापतिको यज्ञ पूर्णतया ध्वस्त गरिदिए ।
शतिदेवीले अग्निद्धारा देह त्यागी अघिल्लो जन्ममा शैलराज शिमालय पुत्रीको नाममा जन्म लिई शैलपुत्री नामले विख्यात भइन् । शैलपुत्रीको दाहिने हातमा त्रिसुल र बायाँ हातमा कमलको फुल सुशोभित रहेको छ ।

















