काठमाडौं । भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि विभिन्न मुलुकबाट सहयोग जुटिरहेका बेला साउदी अरबले पनि नेपाललाई मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराएको छ।
साउदी अरबको राज सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत उपलब्ध गराइएको सहायता सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
सहायता सामग्री हस्तान्तरण गर्दै मन्त्री पुनले सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गरे।
उनले साउदी अरबको सहयोगले नेपाल र साउदी अरबबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताए।
नेपालस्थित साउदी राजदूतावासका अनुसार केएस रिलिफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी सहायता सामग्री भोटेकोशी बाढीबाट प्रभावित परिवारसम्म पुर्याउनेछ।
भदौ १० गते भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाललाई सहयोग गर्ने क्रम जारी छ।
त्यसक्रममा साउदी अरबले पनि राहत तथा मानवीय सहयोग उपलब्ध गराएको हो।


















