मधेशका ११ उपसचिव र अधिकृतको सरुवा तथा पदस्थापन (सूचीसहित)

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रशासन समूहका ११ जना कर्मचारीको सरुवा, पदस्थापन तथा काज फिर्ता गरेको छ।

प्रदेश सरकारको निर्णयअनुसार उपसचिव तथा अधिकृतस्तरका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवा हुनेमा अधिकृत नवौँ तथा दशौँ तहका उपसचिवदेखि अधिकृत सातौँ तहका शाखा अधिकृतसम्म छन्।

निर्णयअनुसार रोशनकुमार विश्वकर्मा, अधिकृत नवौँ तथा उपसचिव, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयबाट सोही मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। रञ्जिता साह, अधिकृत नवौँ तथा उपसचिव, प्रदेश नीति तथा योजना आयोगबाट प्रदेश लोक सेवा आयोगमा पठाइएकी छन्।

त्यस्तै धर्मेन्द्रलाल कर्ण, अधिकृत दशौँ तथा उपसचिव, खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट प्रदेश नीति तथा योजना आयोगमा सरुवा भएका छन्। गणेश गुप्ता झा, अधिकृत दशौँ तथा उपसचिव, प्रदेश लोक सेवा आयोगबाट खेलकुद तथा समाज कल्याण मन्त्रालयमा पठाइएका छन्।

राजेशकुमार मिश्र, अधिकृत दशौँ तथा उपसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रदेश जनलोकपाल आयोगमा सरुवा भएका छन् भने विनोद कान्त झा, अधिकृत नवौँ तथा उपसचिव, प्रदेश जनलोकपाल आयोगबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइएका छन्।

रमेशकुमार साह, अधिकृत दशौँ तथा उपसचिव, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्। अशोक मेहता, अधिकृत नवौँ तथा उपसचिव, प्रदेश नीति तथा योजना आयोगबाट अर्थ मन्त्रालयमा सरुवा भएका छन्।

जयकुमार राउत, अधिकृत दशौँ तथा उपसचिव, अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय वा अन्तर्गत पठाइएका छन्।

त्यस्तै, बबिता जयसवाल, अधिकृत नवौँ तथा उपसचिव, पर्यटन विकास कार्यालय, गौरबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तानिएकी छन्। उनलाई काज फिर्ता गरी मन्त्रालयमै पदस्थापन गरिएको छ।

ओमविक्रम कटुवाल, अधिकृत सातौँ तथा शाखा अधिकृत, गृह, सञ्चार तथा कानुन मन्त्रालयबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्।

प्रदेश सरकारको निर्णयसँगै प्रशासन समूहका ११ कर्मचारीको जिम्मेवारी एकैपटक हेरफेर भएको हो। निर्णयमा कर्मचारीको हाल कार्यरत कार्यालय, सरुवा गरिएको कार्यालय तथा पदसमेत उल्लेख गरिएको छ।