काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लगानी बोर्डमा घुसका रूपमा उपहार दिन खोजिएको भनिएको भिडियो सार्वजनिक भएको प्रकरणमा तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत शाहीले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिएकालाई कानुनी कारबाही गर्न माग गरेका हुन्।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सदस्यहरू वर्तमान सरकारले नियुक्त गरेको उल्लेख गर्दै शाहीले यस प्रकरणमा सरकार जवाफदेहिताबाट पन्छिन नमिल्ने बताएका छन्।
‘लगानी बोर्डमा घुसको रूपमा उपहार दिन खोजिएको भनिएको भिडियो सार्वजनिक भएको छ। तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइयोस्,’ उनले भनेका छन्।
शाहीले भ्रष्टाचारको विषयमा राजनीतिक निकटता वा समयका आधारमा फरक व्यवहार गर्न नहुने पनि बताएका छन्।
‘भ्रष्टाचार हिजो होस् वा आज, आफ्ना हुन् वा पराइ, भ्रष्टाचार भ्रष्टाचार नै हो,’ उनले भनेका छन्।
उनले निष्पक्ष छानबिनबाट दोषी ठहरिने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न प्रधानमन्त्रीसँग जोडदार माग गरेका छन्।


















