लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेशले गर्‍यो संरक्षक–सल्लाहकार सम्मान

केपि कुमार जलन/
पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा प्रतिष्ठान गण्डकी प्रदेशका संरक्षक तथा सल्लाहकारहरूको स्वागत एवं सम्मान कार्यक्रम–२०८३ आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान संरक्षक, वरिष्ठ लोकदोहोरी गायक एवं सर्जक पुरुषोत्तम न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेशका विभिन्न संरक्षक, सल्लाहकार तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा संरक्षक तथा सल्लाहकारहरूलाई प्रमाणपत्र एवं परिचयपत्र वितरण गरिएको थियो। प्रतिष्ठान गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङले संस्थालाई निरन्तर अभिभावकत्व, सहयोग र मार्गदर्शन प्रदान गर्ने संरक्षक तथा सल्लाहकारहरूप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शंकर विरही गुरुङ, केन्द्रीय प्रशासनिक सचिव एवं पोखरा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जीवन दाहाल, केन्द्रीय सचिव तथा सल्लाहकार घनश्याम रिजाल, केन्द्रीय सांगठनिक सहसचिव एवं गण्डकी प्रदेशका संरक्षक तारानाथ आचार्य, सल्लाहकार तथा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठ, पूर्व केन्द्रीय उपमहासचिव एवं संरक्षक चोलेन्द्र पौडेल, पूर्व गण्डकी प्रदेश संयोजक एवं संरक्षक तारापती सुवेदीलगायतको सहभागिता थियो।

त्यस्तै विभिन्न जिल्लाका अध्यक्ष, उपाध्यक्ष, पदाधिकारी, सदस्य तथा आजीवन सदस्यहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो। प्रतिष्ठान कास्कीका अध्यक्ष परशुराम अधिकारी, लमजुङका अध्यक्ष प्रशान्त तामाङ, पर्वतका अध्यक्ष सन्तोष सुवेदी, स्याङ्जाका अध्यक्ष जगत गौडेल, तनहुँका अध्यक्ष विश्व कुमार बुढा, म्याग्दीका अध्यक्ष एकराज चापागाईं, बागलुङका प्रथम उपाध्यक्ष शिव शर्मा, मुस्ताङका प्रथम उपाध्यक्ष जीवन गोतामे, गोरखाका उपाध्यक्ष अमर थापालगायत विभिन्न जिल्लाका प्रतिनिधिहरू उपस्थित थिए।

यसअघि प्रतिष्ठान गण्डकी प्रदेश मातहतका जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षबीच विशेष बैठकसमेत सम्पन्न भएको थियो। बैठकमा सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी बेलायतबाट नेपाल आएका संस्थाका सचिव कृष्ण सुवेदीलाई स्वागत तथा सम्मान गरिएको थियो। सुवेदीले संस्थागत सहयोगस्वरूप रु. ५ हजार प्रदान गरेका थिए।

अध्यक्ष गुरुङले संरक्षक, सल्लाहकार तथा विभिन्न जिल्लाका पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता र अभिभावकत्वले प्रतिष्ठान गण्डकी प्रदेशलाई थप बलियो र सशक्त बनाएको बताइन्। प्रतिष्ठानले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैको आर्थिक, भौतिक तथा नैतिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले संस्थागत कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।