काठमाडौं । नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम तथा त्यसको खर्च विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कँडेलले विपद् व्यवस्थापनका नाममा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाएका हुन् ।
विपद् व्यवस्थापनका लागि स्थापना गरिएका कोषमा हालसम्म कति रकम जम्मा भयो र कुन–कुन शीर्षकमा खर्च भयो भन्ने विवरण संसद्लाई जानकारी गराउनुपर्ने उनले बताए ।
स्थानीय तह, प्रदेश सरकार तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसम्म कति रकम पुगेको छ र त्यसको प्रभावकारिता कस्तो रह्यो भन्नेबारे पनि संसद्लाई स्पष्ट जानकारी नभएको कँडेलको भनाइ थियो ।
‘विपत्तिमाथि विपत्ति आइरहेको सन्दर्भमा कोषहरूको यथार्थ विवरण सार्वजनिक नहुनु दुःखद् छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषको खर्चको स्पष्ट विवरण यो सम्मानित संसद्मा पेश हुनुपर्छ,’ उनले भने ।
विपद्का समयमा संकलन तथा परिचालन हुने रकमको पारदर्शी लेखाजोखा आवश्यक रहेकोमा जोड दिँदै कँडेलले यसबाट राज्यप्रति नागरिकको विश्वास बढ्ने बताए ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएकोमा हालसम्म १ अर्ब रुपैयाँ मात्रै निकासा भएको छ ।


















