एआईजी दाहालमाथि जाँचबुझ सकियो, आजै कारबाहीको तयारी

काठमाडौं । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको अभियोग लागेका सशस्त्र प्रहरी बलका एआईजी बंशीराज दाहालमाथिको छाानबिन सकिएको छ ।

एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका हुन्। सशस्त्र प्रहरी नियमावलीअनुसार एआईजीमाथि सजायको आदेश अधिकार गृहमन्त्रीलाई छ।

स्रोतका अनुसार जाँचबुझमा उनी दोषी देखिएका छन्। सोहीअनुसार गृह मन्त्रालयले आजै स्पष्टिकरण सोधेर कारबाहीको तयारी गरेको छ। उनीमाथि घटुवादेखि बर्खास्तसम्मको कारबाहीको सिफारिस भएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उनी निकट बिचौलिया इनाम सापकोटामार्फत संवेदनशील सूचना दिएको अभियोग दाहालमाथि छ।

हाल काठमाडौं परिसरको हिरासतमा रहेका सापकोटाको मोबाइलमा प्रमाण भेटिएपछि एआइजी दाहाल छानबिनमा तानिएका हुन्। उनलाई गृहले गत सोमबार नै निलम्बन गरिसकेको छ। दाहालको जागिर चार दिन मात्र बाँकी छ।