पोखरा । कास्कीको पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीका अनुसार दुर्घटनाग्रस्त बसमा २१ जना सवार थिए। उनीहरूमध्ये १९ जना कक्षा १० का विद्यार्थी थिए। विद्यार्थीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए ।
दुर्घटनामा घाइते भएकामध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।


















