काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र सीमित नभई नागरिकले गर्ने विश्वासमा समेत निहित रहेको बताएका छन्।
प्रहरीप्रतिको जनविश्वास कायम राख्न निष्पक्षता, पारदर्शिता र व्यावसायिकतालाई व्यवहारमै उतार्नुपर्नेमा उनले जोड दिएका छन्।
सोमबार काठमाडौंस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नेपाल प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी, व्यावसायिक र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।
साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता बदलिँदा सुरक्षा चुनौतीको सामना गर्न प्रहरीको कार्यशैली समयानुकूल सुधार गर्नुपर्ने उनको भनाइ थियो। सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम बौद्धिकता ९एआई० को विवेकपूर्ण प्रयोग गर्दै मानवअधिकार, कानूनी प्रक्रिया र व्यावसायिक विवेकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न उनले निर्देशन दिए।
प्रहरी कर्मचारी व्यक्तिगत धारणा, बाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त भई कानूनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै उनले कानून कार्यान्वयन गर्नु मात्र पर्याप्त नहुने बताए। त्यसको प्रक्रिया पनि पारदर्शी, सम्मानजनक र जवाफदेही हुनुपर्ने उनको भनाइ थियो।
‘नागरिकले प्रहरीको निर्णयसँग असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्छ,’ आईजीपी कार्कीले भने।
उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा विशेष संवेदनशीलता अपनाउन पनि निर्देशन दिए। यस्ता घटनामा पीडितको गोपनीयता सुरक्षित राख्दै पीडितकेन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
नेपाल प्रहरी संविधान र प्रचलित कानूनप्रति प्रतिबद्ध, निष्पक्ष तथा व्यावसायिक संगठन भएको उल्लेख गर्दै आईजीपी कार्कीले नागरिकको विश्वास जोगाउने जिम्मेवारी प्रत्येक प्रहरी कर्मचारीको भएको बताए। प्रहरीको व्यवहार र कार्यसम्पादनबाटै संगठनप्रतिको भरोसा बलियो बन्ने उनको भनाइ थियो।
दीक्षान्त समारोहमा व्यावसायिक तालिम पूरा गरेका प्रहरी निरीक्षकहरूलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीलाई नागरिकको सहयोगी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।


















