असन्तुष्ट र पराजित सबैलाई समेटेर अघि बढ्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले महाधिवेशन प्रक्रियामा सहभागी नभएका र निर्वाचनमा पराजित हुने सबैलाई समेटेर अघि बढ्ने बताएका छन्।

महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले महाधिवेशन प्रक्रियाबाहिर रहेका नेताहरूलाई पनि कांग्रेसमा समेटेर अघि बढ्ने बताएका हुन् ।

उनको संकेत महाधिवेशनमा सहभागी नभएको देउवा समूहप्रति थियो।

‘पार्टीका केही साथीहरू हाम्रो प्रोसेसमा सहभागी नभएर अहिले बाहिर हुनुहुन्छ, नेताहरू हुनुहुन्छ। हामी उहाँहरूलाई समेट्ने कोसिस गर्छौं। कोही पार्टी नै नयाँ खोलेर जान्छु भनेर भन्नुभयो भने त उहाँहरूको च्वाइस हो। तर कांग्रेसभित्रको असन्तुष्टि हो भने त्यसलाई सम्बोधन गर्ने कोसिस गर्छौं,’ उनले भने।

थापाले महाधिवेशनमा प्रतिस्पर्धा गरेका र पराजित हुने नेताहरूलाई पनि पार्टीमा उचित जिम्मेवारी दिएर अघि बढ्ने बताए। कांग्रेसका हरेक व्यक्ति महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले कतिपयलाई केन्द्रीय समितिमा ल्याउने र कतिपयलाई अन्य जिम्मेवारी दिने गरी सबैलाई समेट्ने बताए।

‘कतिपय साथीलाई केन्द्रीय समितिमा फेरि जोडेर ल्याउने होला, कति साथीलाई अरू जिम्मेवारी दिने होला। तर सबैलाई समेटेर लिएर जाने हो,’ उनले भने।

आफू पनि विगतमा पार्टीको निर्वाचनमा पराजित भएर पुनः निर्वाचित भएको अनुभव सुनाउँदै थापाले हार–जितलाई सामान्य रूपमा लिनुपर्ने बताए।

एकपटक कम मत ल्याएर पराजित भए पनि पार्टीमै बसेर काम र संघर्ष गरेपछि अर्को पटक धेरै मतसहित निर्वाचित भएको उनको भनाइ थियो।