काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ।
तान्जानियाको अरुसामा जारी अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी रहेका उनीहरूबीच नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य र जलवायु परिवर्तनलगायतका विषयमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
भेटमा सभामुख अर्यालले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध मैत्रीपूर्ण, पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित रहँदै निरन्तर सुदृढ हुँदै आएको बताए।
उनले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। बाढीमा परी बेपत्ता भएका अष्ट्रेलियाली नागरिकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै अर्यालले विपद्का समयमा अष्ट्रेलियाले देखाएको ऐक्यबद्धताको प्रशंसा गरे।
जलवायु परिवर्तनका कारण नेपालसहित हिमाली मुलुकहरू गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय बहस तथा पहलमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा व्यक्त गरे।
त्यस्तै, नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन हुनु दुई देशबीचको संसदीय सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण आधार भएको उनले बताए। सांसदहरूबीच नियमित अन्तरक्रिया, अनुभव आदानप्रदान तथा संसदीय कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने उनको भनाइ थियो।
सचिवालयका अनुसार भेटका क्रममा अष्ट्रेलियाली सभामुख डिकले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गरेको छ।

















