ओमानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

ओमानको अल अमेरतस्थित अल अमेरत ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा भएको टसमा नेपालले बाजी मारेको हो।

नेपालले पहिले ब्याटिङ गर्ने भएपछि ओमानले फिल्डिङ गर्नेछ।

जारी शृङ्खलामा नेपाल र ओमान दुवै दोस्रो जितको खोजीमा छन्। असोज २६ गते भएको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो। त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले हराएको थियो।

ओमानको जितसँगै लिग–२ को शीर्ष चारमा रहने नेपालको सम्भावना समाप्त भएको छ। अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने चुनौती प्रमुख बनेको छ।

लिग–२ मा ३३ खेल खेलेको नेपाल २६ अंकसहित अंकतालिकाको छैटौँ स्थानमा छ।

३४ खेलबाट २५ अंक जोडेको क्यानडा सातौँ स्थानमा झरेको छ। यता २९ खेल खेलेको ओमान ३३ अंकसहित चौथो स्थानमा छ।