सोमबार ०१ बैशाख, २०८२
कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः
काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू ‘भाइरल’ हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी छिन् ।
इलामको श्रीअन्तुमा सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रियालाई सम्बोधन गर्दै राणले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन् ।
परराष्ट्रमन्त्री राणाले नेपाली कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी त कांग्रेसकै नेताहरुले गर्ने गरेको आफूले सुनेको प्रसङ्ग उल्लेख गरिन् ।
मन्त्री डा. राणाले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्न सुझाव दिइन् । मन्त्री डा राणाले नेपाली कांग्रेस पार्टीमा महिलाको धेरै ठूलो योगदान रहेकाले महिलाको समानुपातिक सहभागिता हुनुपर्ने बताइन् । त्यस अवसरमा राणाले इलाम जिल्लाको बृहत्तर हितका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिइन् ।











