रूपन्देही। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन् ।लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा आज लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको जानकारी दिए ।
साथै उनले बुद्धको शान्तिका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताए । प्रधानमन्त्री ओलीले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको छ, युद्धबाट युद्धले शान्तिको सम्भावना हुँदैन त्यसैले आजको सबैभन्दा बढी आवश्यकता शान्ति भएका कारण बुद्धका शिक्षाहरूको महत्त्व झन् बढ्दै गएको बताए ।
उनका अनुसार संसारमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतमबुद्धका महत्त्वपूर्ण विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए ।










