काठमाडौं। ‘अमिलो, पिरो र चिल्लो नखानु है !’— बिरामी हुँदा वा स्वास्थ्यबारे सचेत रहँदा हामीले सुन्दै आएको यो पुरानो सल्लाह अब परिवर्तन गर्ने बेला आएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले एक भिडियो सन्देशमार्फत वैज्ञानिक प्रमाणहरू प्रस्तुत गर्दै अमिलो र पिरो खानेकुरा स्वास्थ्यका लागि हानिकारक नभई बरु औषधिको काम गर्ने तथ्य सार्वजनिक गरेका छन्।
आफ्नो पोडकास्टमा डा. अनिलले खानासम्बन्धी परम्परागत तर वैज्ञानिक आधार नभएका धारणाहरूले मानिसलाई फाइदाजनक खानेकुराबाट समेत वञ्चित गरिरहेको बताएका छन्। उनले हिप्पोक्रेट्सको प्रसिद्ध भनाइ “खाना नै तिम्रो औषधि होस्” लाई उद्धृत गर्दै हाम्रो भोजनले नै रोगको रोकथाम र उपचार गर्नुपर्नेमा जोड दिए।
पिरोले घटाउँछ मृ * त्युदर
डा. अनिलले विश्वप्रसिद्ध ब्रिटिस मेडिकल जर्नल (BMJ) मा प्रकाशित एक ठूलो अनुसन्धानको हवाला दिँदै मसलायुक्त (पिरो) खानाको फाइदाबारे प्रकाश पारेका छन्। लगभग ५ लाख मानिसमा गरिएको ७ वर्षे अध्ययनले देखाएअनुसार, नियमित रूपमा पिरो खाने व्यक्तिहरूमा मृ *त्युदर १४ प्रतिशतले कम पाइएको थियो।
“खुर्सानीमा पाइने ‘क्याप्साइसिन’ नामक तत्वमा क्यान्सर प्रतिरोधी, मोटोपन घटाउने, र सुन्निने समस्या कम गर्ने जस्ता शक्तिशाली गुणहरू हुन्छन्,” डा. अनिलले भने, “यसले क्यान्सर र मुटु रोगजस्ता गम्भीर रोगबाट हुने मृ *त्युको जोखिम घटाउन समेत मद्दत गर्छ।”
अमिलो खानेकुरा: रोग प्रतिरोधी क्षमताको खानी
त्यसैगरी, अमिलो खानेकुरालाई बेवास्ता गर्ने चलन पनि गलत भएको उनको भनाइ छ। प्राकृतिक रूपमा फलफूल र तरकारीबाट प्राप्त हुने अमिलोपन स्वास्थ्यका लागि बरदान साबित हुन्छ।
“कागती, सुन्तला, अमला, भोगटे जस्ता अमिला फलफूलहरू भिटामिन-सी, एन्टी-अक्सिडेन्ट, पोटासियम र म्याग्नेसियमका खानी हुन्,” उनले थपे, “यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउने, उच्च रक्तचाप नियन्त्रण गर्ने र दीर्घ रोगहरूबाट बचाउने काम गर्छ।”
कसले सचेत हुने ?
यद्यपि, डा. अनिलले यी खानेकुराहरू सबैका लागि र सबै अवस्थामा फाइदाजनक नहुन सक्नेमा पनि सचेत गराएका छन्। उनका अनुसार, ग्यास्ट्राइटिस, एसिडिटी, रिफ्लक्स वा पाइल्सको गम्भीर समस्या भएका व्यक्तिहरूले भने पिरो र अमिलो खानेकुरा आफ्नो शरीरले पचाउन सक्ने मात्रामा मात्र सेवन गर्नुपर्छ ।
खाना छनोटका चार आधार
कुनै पनि खानेकुरा खानु वा नखानु भन्ने निर्णय लिनुअघि डा. अनिलले चारवटा कुरामा ध्यान दिन सुझाएका छन्:
आवश्यकता: खानामा शरीरलाई चाहिने पौष्टिक तत्व छ कि छैन ?
स्वास्थ्य अवस्था: तपाईंको हालको स्वास्थ्य अवस्था र रोगसँग त्यो खाना उपयुक्त छ कि छैन ?
शारीरिक प्रतिक्रिया: त्यो खाना खाँदा तपाईंको शरीरमा कस्तो असर पर्छ ?
उपलब्धता र खर्च: खाना सजिलै पाइन्छ कि पाइँदैन र सस्तो छ वा महँगो ?
‘अमिलो-पिरो’ लाई शत्रुको रूपमा होइन, बरु सही मात्रामा सेवन गर्दा स्वास्थ्यको मित्रको रूपमा हेर्नुपर्छ। अबदेखि डाक्टरको पुर्जामा “अमिलो, पिरो नखानु” भन्ने सल्लाह लेख्नुअघि यसको वैज्ञानिक पक्षबारे पनि सोच्नुपर्ने बेला आएको छ।










