“रगतको रङ र शान्तिको छाया”
सहरको मुटुमा
सूर्य झरेको थिएन,
तर रात पनि देखिएको थिएन
दुवै बीचमा अल्झिएको
रगतले भिजेको एक साँझ थियो ।
रगतले लेखिएका नाराहरू
सडकका हावामा
आवाज बनेर यत्रतत्र
अग्रगामी बिगुलका सुरमा
पोखिदै थिए ।
जुन अहिले हावासँगै उड्दैछन्,
आवाज ठोकिने भित्ताहरू चुँडिएर
सडकमा खसिरहेछन्
देशको अनुहारमा आँसु देखिएको छ ।
हामीले परिबर्तनको नाममा
पृथ्वी नै हल्लायौं,
तर त्यो हल्लाइमा
न सजिलै देखिन्छ
उषाको आगमन
नैतिकताको पुनर्जागरण
देखिन्छ एउटा उन्मत्त डमरुको ताल
जहाँ शब्द छैन, तर ध्वनि छ
क्रोधको, घृणाको
अन्तिम क्षणसम्म बाँकी रहेको आशाको।
प्रहरी, जसको हातमा कानुन थियो
त्यो हात काँपिरहेको छ
सामुन्ने आफ्नै छोराछोरी
उनको आँखामा आँसु
र बन्दूकको घोचमा
थरथराउँदो विवेक।
आफू कुटिँदा
लाठि बर्सिएन
आफू र आफ्नो घर जल्दै गर्दा
गोलि चलेन
परिबर्तन खोजेका GEN-Z
कसैको स्वार्थले पुगे
चिता माथी
रगतले राष्ट्रिय झन्डा पोतिदा
कसैको मौनता भित्र
देखियो रातो रगत पनि कालो ।
विदेशी चराहरू उडिरहदा
आफ्नो आकाशभित्र
एक झुन्ड
सुसज्जित चीलले दाउ हेरिरहेको छ ।
जो, आकाश हेर्ने हाम्रो
आदतलाई नै खोसेर लग्ने हुन कि!
यो बेला एकताको हात
बलियो बन्नुपर्छ ।
यी हातहरू
स्वार्थको सिन्दूरले रङ्गिनु हुँदैन ।
शान्ति अहिले एउटा
अपत्यारिलो अफवाह बनेको छ
रेडियोमा बज्ने
तर जीवनमा कहिल्यै नआउने धुन।
तर अब
गहिरो कुना बाट
जहाँ GEN-Z सपना
मर्ने छैन ।
जन -जनले
आकाशको प्रार्थना
ओच्छ्याइरहदा यो बेला ।
त्यहीँबाट,
शान्ति आउन सक्छ,
फेरि
बिना नारासँगै,
बिना रगत
बिना परिभाषा
अग्रगामी परिवर्तन
संविधान बोकेर
बिगुलको संगीतमा।
GEN-Z
बिधाता पौडेल, आधिखोला -०३, स्याङ्जा ।








