जेठ १२: दैलेखमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । कालिकोटबाट सुर्खेतका लागि छुटेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक दुर्घटना भएको हो ।
ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका–३ कै ३२ वर्षीया धनकला शाही रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते १७ जनालाई राति नै उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनामा घाइते भएका अरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको छ । चालक सुरेन्द्र डाँगी क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


















