चालु आर्थिक वर्ष २०७८/७९ को चार महिनाको अवधिमा ४४ करोड ५१ लाख बढीको सुनचाँदीका गहना बाहिरिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
विभागका अनुसार उक्त अवधिमा नेपालबाट २९ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको सुनका मौलिक गहना बाहिरिएको छ । चालु आवको कात्तिक मसान्तसम्म ३४ केजी बढीका गहना निर्यात भएको विभागले जनाएको छ ।
नेपालबाट विदेशी तीन मुलुक अमेरिका, अष्ट्रेलिया र हङकङमा सुनका गहना निर्यात हुने गरेको छ । विभागका अनुसार नेपालीहरुको बसोबास बढी हुने गरेको देशहरुबाट यस्ता खालका गहना माग हुने गरेको छ ।
विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ । विशेषगरि ति देहरुमा नेपाली मौलिक गरगहनाको निर्यात भएको हो ।
उक्त अवधिमा सबैभन्दा बढी अमेरिका निर्यात भएको छ । चालु आवको कात्तिक मसान्तसम्म उक्त देशमा २५ करोड ७० लाख ९९ हजार रुपैयाँ बराबरको सुनका गहना पुगेको छ । उक्त देशमा २९ केजी बढीको गहना बाहिरिएको हो ।
यस्तै, हङकङ ३ करोड ४४ लाख २९ हजार रुपैयाँ बराबरको गहना पुगेको विभाले जनाएको छ । विभागका अनुसार हङकङमा ४ केजी र अष्ट्रेलियामा ७० लाख ४८ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ ।
साढे १४ करोड बढीको चाँदीका गहना निर्यात
चालु आर्थिक वर्ष २०७८/७९ को चार महिनाको अवधिमा नेपालबाट साढे १४ करोड बढीको चाँँदीको गहना निर्यात भएको छ ।
विभागका अनुसार चालु आवको कात्तिक महिना मसान्तसम्म १४ करोड ६५ लाख ७९ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको हो ।
नेपालबाट ७ हजार ३१३ केजी भन्दा बढी चाँदीका गहना निर्यात भएको हो । अहिले नेपालबाट विश्वका डेढ दर्जन मुलुकहरुमा चाँदीका गहना निर्यात हुने गरेको विभागको तथ्याङकमा उल्लेख छ ।
चालु आवको ४ महिनाको अवधिमा अमेरिका, अष्ट्रेलिया, जापान, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, हङकङ, नेदरल्याण्ड पोर्चुगल, सिंगापुर, स्वीटजरल्याण्ड, ताइवान लगायतका देशहरुमा निर्यात भएको हो
सबैभन्दा बढी चाँदीका गहना अमेरिकामा पुगेको छ । उक्त देशमा १० करोड २३ लाख २६ हजार र अष्ट्रेलियामा १ करोड ३ लाख ७१ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको हो ।
यस्तै, क्यनडामा ७० लाख ८१ हजार, जर्मनीमा ६९ लाख ४ हजार, जापानमा ६० लाख ८८ हजार, स्वीटजरल्याण्डमा २८ लाख ७४ हजार, फ्रान्समा २५ लाख १ हजार, ताइवानमा २१ लाख ४३ हजार, मलेसियाबाट १९ लाख ८५ हजार, बेलायतमा १६ लाख७९ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको छ ।
त्यसैगरि रसियन मुलुकबाट ७ लाख ५० हजार, नेदरल्याण्डमा ६ लाख ९४ हजार, अष्ट्ररिया ४ लाख ९० हजार, बेल्जियममा ४ लाख २२ हजार, पोर्चुगलमा ९९ हजार, सिंगापुरमा ९६ हजार, क्रोसियामा ४७ हजार र इज्रायलमा ३० हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको छ ।