मधेस प्रदेशमा सीके राउतको किसान आन्दोलन, पूर्व–पश्चिम राजमार्गमा टायर जलाएर प्रदर्शन

माघ २०ः किसान आन्दोलनको नेतृत्व गर्दै आइरहेको डा.सीके राउत नेतृत्वको (जनमत पार्टी)ले पूर्व–पश्चिम राजमार्ग टायर बालेर प्रदर्शन गरिरहेको छ। जनमतको बन्द आह्वानपछि उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आज (बिहीबार) विहानैदेखि राजमार्ग सुनसान देखिएको छ । केही स्थानीयबाहेक लामो दूरीका सवारी चल्न सकेका छैनन् । राजमार्ग अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका ठाउँमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् ।

अहिलेसम्म तोडफोड र आगजनीका घटना भएको छैन । तर, पूर्वघोषित राजमार्ग बन्दको अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी जनमतका कार्यकर्ताहरुले दिएका छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी एक महिनादेखि आन्दोलनरत छ । अहिलेसम्म सरकारले समस्या समाधानका लागि ठोष पहल गरेको छैन ।

आन्दोलनको सुरुवात समयमा पनि केहिदिन जनमतले राजमार्ग अवरुद्ध पारेको थियो । प्रहरीले भने बल प्रयोग गरेर खुलाएको थियो । सो बेला आन्दोलनकारीले सिरहा, धनुषा र सप्तरी गरी ४ वटा ट्रकमा आगजनी र सयौं सवारी साधनमा तोडफोड गरेका थिए ।